माडी, चितवन । माडी-६, कल्याणपुर बजारदेखि मिलनचोकसम्म पुग्ने बाटो कालोपत्रेमा निरन्तर ढिलाई भएको र अत्यधिक धुलाम्य रहेको भन्दै स्थानीयले माडी नगरपालिका कार्यालयमा धर्ना दिएका छन् ।
शिवशक्ति टोल विकास संस्थाका सदस्य र टोलबासीहरुले संस्थाको ब्यानरमा मंगलबार माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो र उपप्रमुख खेमप्रसाद महतोको कार्यकक्ष अगाडि धर्ना दिएका हुन् ।
कालोपत्रे हुने क्रममा रहेको सो सडक ५ वर्ष बितिसक्दा पनि कालोपत्रे पुरा नभएको र हाल अत्यन्त धुलाम्य रहँदा जनतामा प्रत्यक्ष असर परेको भन्दै विरोध स्वरूप धर्ना दिइएको उनीहरुको भनाई छ ।
यो समाचार तयार पार्दासम्म धर्नाका कारण नगर उपप्रमुख महतो कार्यकक्षमा प्रवेश गर्न नसकी बाहिरै बस्नुपरेको छ । धुलो व्यवस्थापन हुन नसक्दा सडकको दायाँबायाँ घर हुनेहरु र पैदल यात्रीहरुको स्वास्थ्यमा नकारात्मक असर परिरहेको उनीहरूको गुनासो छ ।