चितवन । नवलपुरको विनय त्रिवेणी गाउँपालिकास्थित नारायणी नदी झोलुङ्गे पुलबाट माडी-१, बाल्मीकि आश्रमसम्म पहुँच मार्ग बनाउन नवलपुरबासीले श्रमदान गरेका छन् ।
झोलुंगे पुलदेखि वाल्मीकि आश्रमसम्म पैदल (गोरेटो) बाटो पहिले नै रहेकोमा त्यसलाई फायर लाइनका रुपमा फराकिलो बनाई अटो र टेम्पो चल्ने बनाउन उनीहरु श्रमदानमा जुटेका हुन् ।
झोलुंगे पुलदेखि बाल्मीकि आश्रमसम्मको २९०० मिटर बाटोमा २ वटा डाँडामा माटो काट्नुपर्ने र २ वटा खोल्सामा कल्भर्ट बनाउनुपर्ने अवस्था रहेकोमा आर्थिक सहयोग उठाएर तथा ज्यालादारी मजदुर समेत लगाएर काम गरिरहेको विनय त्रिवेणी-६ का वडाध्यक्ष नुरेन शाहले बताउनुभयो ।
झोलुङ्गे पुल निर्माण सकिएको २ वर्ष हुनलाग्दा समेत भारतीय असहयोगका कारण आश्रम पुग्ने नेपाली बाटो निर्माण हुन सकेको थिएन । जे.सि.बी.मार्फत बाटो निर्माण गर्नुपर्ने भौगोलिक परिवेश रहेको सो स्थानमा जे.सि.बी. लैजान भारतीय पक्षले बाटो दिएको थिएन ।
माडी नगरपालिका-१ मा रहेको वाल्मीकि आश्रम माडी वा चितवनको सडक सञ्जालसँग (हालसम्म) जोडिएको छैन । आश्रम पुग्न हिउँदमा डुङ्गा चढेर जाने तथा बर्षायाममा भारतको बाटो प्रयोग गरेर आश्रम पुग्ने नेपाली तीर्थयात्रीलाई भारतीय सीमा सुरक्षा बलले निकै कडाइ गर्ने गरेको वडाध्यक्ष शाहले बताउनुभयो ।