१७ श्रावण, चितवन । माडीसंगै समग्र चितवन र देशकै महत्वपूर्ण धार्मिक पर्यटनस्थल रहेको बाल्मीकि आश्रम बर्षौंदेखि बाटोकै कारण ओझेलमा रहिआएको छ । सो स्थानमा पुग्न राज्यले बजेट छुट्याई सडकमार्ग निर्माण गर्न ठेक्का सम्झौता गरेपनि भारत (बिहार) सरकारले भारतीय बाटो नदिँदा जे.सि.बी. (एक्सकाभेटर) पुग्न नसकी करीब ३० लाख रुपैंया बजेट फ्रिज भएको अवस्था छ ।
नेपालबाट बाल्मीकि आश्रमसम्म पुग्न नारायणी नदीमा करीब २ बर्षअघि झोलुंगे पुल निर्माण भएको छ । तर सो पुल तरेर वारीपट्टी (माडीतर्फ) सवारी साधन चल्ने बाटो नरहेकाले पर्यटक र यात्रुहरु बाटोमा करीब १ घण्टा पैदल यात्रा गरेर बाल्मीकि आश्रम पुग्नु परिरहेको छ ।
सवारी साधन लिएर सो धार्मिकस्थल पुग्न भारतको बाटो प्रयोग गर्नुपर्छ, र त्यसरी पुग्न चाहने नेपाली तीर्थयात्रीलाई भारतीय सीमा सुरक्षा बलले निकै कडाइ गर्ने गरेको छ । यस्तोमा झोलुंगे पुलदेखि वाल्मीकि आश्रमसम्म पैदल (गोरेटो) बाटो पहिले नै रहेकोमा त्यसलाई फायर लाइनका रुपमा फराकिलो बनाई अटो र टेम्पो चल्ने बनाउन नवलपुरस्थित विनय त्रिवेणी गाउँपालिकाबासीले श्रमदान गरेका छन् ।
सो बाटो निर्माण सकिएसंगै अटो र टेम्पोमार्फत बाल्मीकि आश्रम पुग्न सकिने र यसबाट धार्मिक पर्यटनको राम्रो विकास हुने विश्वास गर्न सकिन्छ ।