चितवन । रा.स्व.पा.को प्रदर्शन रोक्न नसकेको भन्दै चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको सरुवा भएको छ ।
करीब साढे चार महिना अघिमात्रै चितवनमा प्रमुख जिल्ला अधिकारीका रुपमा आउनुभएका यादवको काज सरुवा भएको हो । उहाँलाई फिर्ता बोलाई प्रकाश पौडेललाई चितवनमा काज सरुवा गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
त्यसैगरी चितवनका प्रहरी प्रमुख (एसपी) भावेश रिमालको पनि सरुवा भएको छ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रर्दशनमा प्रधानमन्त्रीकोे पुत्ला दहन गर्न रोक्न नसकेको भन्दै दुबै अधिकारीको सरुवा भएको बुझिएको छ ।
पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा चितवनको भरतपुरमा रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको शवको प्रतिक बनाएर नारायणी नदीमा बगाएका थिए । सो विरोधलाई प्रजिअ र एसपीले रोक्न नसकेको गृह मन्त्रालयको विश्लेषण रहेको छ ।