माडी, चितवन । माडीकै सर्बाधिक ठूलो सहकारी संस्थाका रुपमा परिचित कृषक उपकार मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको २४औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष देवेन्द्र प्रसाद पौडेलको अध्यक्षता र बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यमा बसन्तपुरस्थित होटल प्याराडाइजमा उल्लेख्य शेयर सदस्यहरुको उपस्थितिबिच सो कार्यक्रम सम्पन्न भएको हो । गत आइतबार भरतपुर-५, टाइगरचोक सेवा केन्द्रको ईकाइ भेला सञ्चालन भएको थियो ।
साधारणसभाले पारित गरेको लेखापरीक्षण प्रतिवेदन अनुसार सो सहकारीले गत आर्थिक बर्ष २०८०/८१ मा ७९ लाख ३० हजार ८७७ रुपैंया खुद मुनाफा आर्जन गरेको छ । ४ करोड ६३ लाख १८ हजार ६८९ रुपैंया आम्दानी र ३ करोड ८३ लाख ८७ हजार ८१२ रुपैंया कूल खर्चको अन्तरबाट सहकारीले सो मुनाफा आर्जन गरेको हो ।
संकलित मुनाफा मध्येबाट कर्जा सुरक्षण कोषकट्टी, कर र कर्मचारी बोनस समेत बहन गर्दा शुद्ध मुनाफा ५८ लाख २९ हजार ९१७ रुपैंया रहने आयव्यय प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक बर्षको अन्तिम दिनसम्म सहकारीमा ३६२८ महिला, २९५० जना पुरुष र ११६ संघसंस्था गरी ६६९४ शेयर सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।