माडी, चितवन । माडी र समग्र चितवनको क्षेत्रको सामाजिक र शैक्षिक क्षेत्रमा विशिषट योगदान गरेको कदरस्वरुप अमेरिकास्थित एक संस्थाले माडीका ५ जना सामाजिक अगुवाहरूलाई सम्मान गरेको छ ।
USA-Nepal Community Outreach Network (UNCON) नामको संस्थाले आफूद्वारा नेपाल र त्यसमा पनि चितवनका विभिन्न स्थानमा सञ्चालित सामाजिक सेवाका परियोजनाहरुमा महत्वपूर्ण सहयोग समेत गरेको भन्दै उहाँहरुलाई सम्मान गरेको हो ।
भरतपुर महानगरपालिका वडा नं. १२, नौरंगेमा सम्पन्न एक कार्यक्रमबिच माडीमा रक्तदान र योगाको क्षेत्रमा योगदान गर्नुभएका माडी योगा समितिका अध्यक्ष भागिरथ बस्याल, पत्रकारिता र आमसञ्चारको क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका स्वदेश एफ.एम.का अध्यक्ष देव नारायण शाह र योग एवं मेलमिलापको क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका माडी ५ का वडा सदस्य एवं मेलमिलाप समिति सदस्य फिरल महतो सम्मानित हुनुभएको हो ।
त्यस्तै, माडीको शिक्षा क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका जनजीवन माध्यमिक विद्यालयका शिक्षक एवं नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष रामप्रसाद भण्डारी र खैरहनी माध्यमिक विद्यालय खैरहनीका व्यवस्थापन समिति अध्यक्ष तथा चक्रशीला धाम निर्माणका अभियन्ता सुवास तिवारीलाई पनि सम्मानित गरिएको हो ।