माडी, चितवन । कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक बर्ष २०८०/८१ मा ७९ लाख ३० हजार ८७७ रुपैंया मुनाफा आर्जन गरेको छ ।
सहकारीको २४औं बार्षिक साधारणसभा अन्तरगत भरतपुर सेवा केन्द्रको ईकाइ भेलामा सार्वजनिक भएको आयव्यय प्रतिवेदन अनुसार सो सहकारीले ४ करोड ६३ लाख १८ हजार ६८९ रुपैंया आम्दानी र ३ करोड ८३ लाख ८७ हजार ८१२ रुपैंया कूल खर्चको अन्तरबाट सो मुनाफा आर्जन गरेको हो ।
संकलित मुनाफा मध्येबाट कर्जा सुरक्षण कोषकट्टी, कर र कर्मचारी बोनस समेत बहन गर्दा शुद्ध मुनाफा ५८ लाख २९ हजार ९१७ रुपैंया रहने आयव्यय प्रतिवेदनमा उल्लेख छ । सहकारीका अध्यक्ष देबेन्द्र प्रसाद पौडेलको अध्यक्षता र भरतपुर महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा उल्लेख्य सहभागिताबिच सो प्रथम ईकाई भेला सम्पन्न भएको हो ।
२०५७ सालमा दर्ता भई औपचारिक कारोबार सुरु गरेको सो सहकारी वासलात र शेयर सदस्यको संख्यात्मकको हिसाबले माडी नगरपालिका क्षेत्रकै ठुलो सहकारी संस्था मानिन्छ । गत आर्थिक बर्षको सहकारीमा ३६२८ महिला, २९५० जना पुरुष र ११६ संघसंस्था गरी ६६९४ शेयर सदस्य रहेका छन् ।