माडी, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले भरतपुरमा गरेको प्रदर्शनका क्रममा प्रहरीसंग झडप हुँदा रास्वपाका १५ जना कार्यकर्ता घाइते भएका छन् ।
पार्टी सभापति रवि लामिछाने पक्राउको बिरोधमा प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ताहरु नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनको गेट अगाडि पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यस क्रममा पार्टीका चितवन जिल्ला सभापति कृष्ण भुषाल सहित १५ जना प्रदर्शनकारी घाइते भएको र उनीहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको पार्टीले जनाएको छ ।
रास्वपा समर्थक र प्रहरीबीचको मुठभेडले केहीबेर भरतपुरको अस्पतालरोड क्षेत्र तनावग्रस्त भयो । प्रदर्शनकारीहरुको भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । प्रहरीले भने सुरुमा प्रदर्शनकारीले आफूहरुमाथि ढुंगा प्रहार गरेको दाबी गर्दै प्रदर्शनकारीको ढुंगा लागेर २० भन्दा बढी प्रहरी घाइते भएको जिकिर गरेको छ ।