माडी, चितवन । जलबायु मैत्री कृषि प्रणालीको माग गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सम्बद्ध अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) चितवन जिल्ला समितिले माडी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
मोहन बैद्य किरण नेतृत्वको पार्टीसम्बद्ध किसान संगठनका चितवन र माडीका नेताहरुले मंगलबार माडी नगरप्रमुख ताराकुमारी काजी महतोसमक्ष सो ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा विदेशी तथा भारतीय तरकारी, फलफूल, माछा, मासु, खाद्यान्न आदि सिमामा चेकजाँच गरेर खान योग्य प्रमाणित गरेर मात्रै आयात हुने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।
त्यसैगरी माटोलाई बलियो बनाउन माटोमा प्रशस्त मात्रामा प्राङ्गारिक बस्तुहरु मिसाउनुपर्ने र कडाखालको विषादीहरु वालीनालीमा प्रयोग गर्न नगर्न नहुने सुझाव दिइएको छ । ज्ञापन पत्रमा रासायनिक मलको प्रयोग घटाउँदै लानुपर्ने, बालीनालीमा छर्नें कडाखालका विषादीहरुको बिक्री वितरणमा पूर्णपमा रोक लगाउनुपर्ने, किसानलाई आवश्यक तालिम र सीपको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव समेत रहेका छन् ।