चितवन । विद्यालय तहमा कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने गरी अनिवार्य तथा निःशुल्क शिक्षा लागु रहेको माडी नगरकै एक सामुदायिक विद्यालयले भने व्यवस्थापन समितिबाट निर्णय गर्दै शुल्क लागु गरेको छ ।
पछिल्लो समय नि:शुल्क शिक्षण गरिआएको माडी-९, कृष्णनगरस्थित कृष्णनगर माध्यमिक विद्यालयले गत श्रावण तेश्रो साता बसेको व्यवस्थापन समितिको बैठकबाट औपचारिक निर्णय गर्दै शिक्षण शुल्क लागु गरेको हो ।
विद्यालयले नर्सरीदेखि कक्षा एक सम्म रु.३००, कक्षा दुईमा रु.४००, कक्षा तीनमा रु.५०० हुँदै कक्षा दशलाई रु. १२०० बार्षिक शुल्क लगाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारदमणि पौडेलले बताउनुभयो ।
आर्थिक अभावमा विद्यालय चलाउन गाह्रो भएको भन्दै विद्यार्थीहरुमा शुल्क लागु गर्नुपरेको विद्यालयका प्रधानाध्यापक रामसिंह कुमालले बताउनुभयो । हाल पोखरी र सटर भाडाबाट केहि रकम आय रहेपनि खाजा बनाउने आया र स्कुलबस ड्राइभरको तलब तथा कार्यालय सञ्चालनमा ठूलो खर्च रहेको प्रधानाध्यापक कुमालको भनाई छ ।
यसअघि, गत जेष्ठ २५ गते माडीका जनप्रतिनिधि, राजनैतिक दल र शिक्षाकर्मीहरुले नगर क्षेत्रमा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनमा हस्ताक्षर गरी प्रतिबद्धता जनाएका थिए । तर सो प्रतिबद्धता बिपरित विद्यालयहरुले विभिन्न शीर्षकमा विद्यार्थीहरुसंग शुल्क असुल गरिरहेको अवस्था छ ।