चितवन खबर पोष्ट

माडी नगरलाई मर्यादित महिनावारी नीति लागु गर्न मदन पुरस्कार विजेता लेखक पौडेलको आग्रह

माडी, चितवन । मर्यादित महिनावारीका अभियन्ता एवं मदन पुरस्कार विजेता लेखक राधा पौडेलले माडी नगरपालिकालाई मर्यादित महिनावारी नीति बनाई कार्यान्वयन गर्न र महिनावारी मैत्री स्थानीय पाठ्यक्रम लागु गर्न आग्रह गर्नुभएको छ ।

शुक्रबार नगर कार्यपालिकाको सभाहलमा सम्पन्न ‘मर्यादित महिनावारी सहितको इको माडी निर्माणमा सरोकारवालाहरुको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अभियन्ता पौडेलले माडी नगर प्रमुख ताराकुमारी काजी महतोसमक्ष सो अनुरोध गर्नुभएको हो ।

नगरपालिकाले महिनावारी हुने र चुक्नेबारे जनचेतनामूलक होर्डिङ बोर्ड सहित प्रचारप्रसार गर्नुपर्ने, महिनावारीमा प्रयोग हुने सामग्रीहरु स्वास्थ्यमैत्री र वातावरणमैत्री बनाउनुपर्ने तथा स्थानीयस्तरमा उत्पादन हुन सक्ने र जैविक प्याडको उपयोग हुनुपर्ने उहाँको भनाई थियो ।

त्यसप्रति प्रतिक्रिया जनाउँदै नगरप्रमुख महतोले मर्यादित महिनावारीको व्यवस्थालाई नगरको नीति तथा कार्यक्रममा समेट्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।त्यस्तै, माडीका सामाजिक, शैक्षिक र परोपकारजन्य संघसंस्थाका प्रतिनिधिहरुले समेत मर्यादित महिनावारीको बिषयलाई उच्च प्राथमिकता दिई आफ्नो क्षेत्रबाट हुनसक्ने र गर्नसक्ने काम र पहल गर्ने जनाएका थिए । (फाइल फोटो)

तपाईको प्रतिक्रिया

ताजा समाचार