चितवन । माडी क्षेत्रमै छायाँकन भई हाल पोष्ट प्रोडक्सनमा रहेको नेपाली कथानक चलचित्र ‘फिरफिरे फिरिरी’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ ।
एकवटा आइटम गीत बाहेक अन्य सबै दृश्यहरु माडी उपत्यकाभित्रै छायाँकन भएकाले ‘पपुलर कल्चर’मार्फत माडीको सुन्दरतालाई बाहिर ल्याउने अपेक्षा गरिएको सो चलचित्रको पहिलो पोस्टर मंगलबार सार्वजनिक भएको हो ।
‘हरर कमेडी जनरा’मा बनेको सो फिल्म बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको हो । यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ जस्ता फिल्म निर्माण गर्नुभएका मनोज कुमार अधिकारीले निर्माण गर्नुभएको सो चलचित्र आगामी कार्तिक २२ गते छठ पर्वको अवसरमा प्रदर्शन हुनेछ ।
माडी क्षेत्रमा भने त्यसअगावै च्यारिटी सो गर्ने योजना रहेको अभिनेता एवं निर्माता अधिकारीले बताउनुभयो । माडीका कलाकारहरु एवं स्थानीयबासीहरुको समेत अभिनय रहेको यस चलचित्रबाट सन्दिप श्रेष्ठ र भावना उप्रेतीले नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दै हुनुहुन्छ ।
फिल्मको निर्देशन नबिन भट्टले गर्नुभएको हो । फर्स्टलुक पोस्टरमा चारजना मुख्य पात्र देख्न सकिन्छ, जहाँ स्कुटीमा बसेकी एक युवतीलाई तीनजना युवाले तानातान गरिरहेका देख्न सकिन्छ । चलचित्रले स्वस्थ मनोरञ्जनसंगै सामाजिक सन्देश समेत दिने प्रोडक्सन टिमले जनाएको छ ।