चितवन । माडीको बसन्तपुरमा आयोजित ‘गोल्डन एमिनेन्ट दशैं विशेष कार्यक्रम एवं खुला नृत्य प्रतियोगिता-२०८१’ को उद्घाटन समारोहमा माडीका पुराना सामाजिक अगुवा केवल प्रसाद चौधरीलाई सम्मान गरिएको छ ।
बि.सं. २०२२ सालदेखि २०४२ सालसम्म लगातार दुई दशक र त्यसअघि चार बर्षसम्म तात्कालीन बघौंडा गाउँ पञ्चायतका प्रधानपञ्च रहनुभएका चौधरीले माडी माध्यमिक विद्यालय र बघौंडा आधारभूत विद्यालयको स्थापना, प्रहरी र स्वास्थ्य चौकीहरुको निर्माण एवं महत्वपूर्ण सामाजिक योगदान गर्नुभएको छ ।
हाल माडी नगरपालिकाको कार्यालय रहेको स्थानसंगै बसन्तपुर बजारको चौर, बघौंडा अस्पताल, माडी मा.वि. र माडी क्याम्पस रहेको जमीनका साथै बघौंडा आधारभूत विद्यालय रहेको जमीन समेत चौधरीकै योगदानस्वरुप सार्वजनिक जमीनका रुपमा सुरक्षित रहेको हो ।