चितवन । माडी-७, देवेन्द्रपुरस्थित शनि धाममा शनिवार दर्शनका लागि आउने श्रद्धालु भक्तजनहरुलाई नियमित प्रसाद वितरणको व्यवस्था सुरु भएको छ ।
शनि मन्दिरमा हरेक शनिवार धेरै संख्यामा भक्तजनहरुको आगमन हुने गरेसंगै कार्तिक ३ गते शनिवार (आज) बाट सबै दर्शनार्थीहरुलाई प्रसाद वितरण गर्न थालनी भएको हो ।
हरेक साता एकजना सहयोगदाताको सौजन्यमा प्रसाद वितरण गर्ने व्यवस्था मिलाइएको मन्दिरका अध्यक्ष पण्डित सुदर्शन सुवेदीले बताउनुभयो । यसका लागि सहयोगदाताबाट पाँच हजार रुपैंया दान लिएर मन्दिर व्यवस्थापन समितिले नै प्रसाद तयारी एवं वितरणको प्रवन्ध गरिने उहाँले जनाउनुभयो ।
आइतबार (आज) माडी-७ निवासी युवा व्यवसायी लीलाप्रसाद सुवेदीले प्रसादको सौजन्य गर्नुभएको हो । पछिल्लो समय शनि धाम माडीकै एक प्रमुख धार्मिक पर्यटनस्थलका रुपमा चर्चा कमाउँदै श्रद्धालु भक्तजनहरुलाई आकर्षित गरिरहेको देखिन्छ ।