माडी, चितवन । माडीको बैकुण्ठ तालमा फोटो खिँच्ने क्रममा चिप्लिएर तलाउमा खस्न पुगी एक पुरूष बेपत्ता भएका छन् ।
तालमा डुबेर बेपत्ता हुनेमा भरतपुर-१६, शिवघाट निवासी अन्दाजी बर्ष ३२ का अर्जुन गौतम रहेको वडाध्यक्ष वीरेन्द्र भण्डारीले जनाउनुभयो । बिदाको दिन पारी बुबा, आमा, सासुआमा र भाइहरुसहित बैकुण्ठेताल क्षेत्रमा घुम्न आएका गौतम बिहान करीब ११ः३० बजे चिप्लिएर बैकुण्ठतालमा खस्न पुगेका थिए ।
हाल तलाउको माथिल्लो भागमा केहि नरहेको र बेपत्ता गौतमको खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर सहितको उद्धार टोली ल्याउने पहल भइरहेको ईलाका प्रहरी कार्यालय माडका प्रमुख केदारमान दोङले जानकारी दिनुभयो ।
यसअघि, सो ताल घुम्न जानेहरु पौडी खेल्दा हरेकजसो वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि ताल व्यवस्थापन समितिले पौडी खेल्न रोक लगाएको थियो । तर पनि तालमा पौडी खेल्ने क्रम पूर्णतः रोकिएको भने छैन ।