माडी, चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल सहित जिल्लाका कार्यालय प्रमुखहरु र माडी नगरका जनप्रतिनिधि एवं कार्यालय प्रमुखहरुबिच माडीका सवालहरुमा अन्तरक्रियात्मक छलफल भएको छ ।
माडी नगरपालिकाको सभाहलमा आईतबार सम्पन्न बैठकमा माडी क्षेत्रमा देखिएको नागरिकता सम्बन्धी विभिन्न समस्याका साथै सुशासन, शान्ति सुरक्षा, लागूपदार्थ नियन्त्रण, प्राकृतिक श्रोत साधनको उपभोगमा नीतिगत जटिलता, भूमिहीन सुकुम्बासीहरुको समस्या लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको हो ।
माडी नगरप्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा हालै चितवनको सि.डि.ओ.का रुपमा जिम्मेवारी सम्हाल्नुभएका पौडेलसहित माडी नगर उपप्रमुख खेमप्रसाद महतो, चितवन प्रहरी उपरीक्षक गौतम मिश्र, नेपाली सेनाको सबुज गणका प्रमुख सेनानी दिनेश लामा, सशस्त्र प्रहरी बल नेपाल नं १७ गण सहायक प्रहरी उपरीक्षक राजेश खरेल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय चितवनका उप अनुसन्धान निरीक्षक मनोज ढकाल, चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली, माडीका वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो ।