माडी, चितवन । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश राजनैतिक दुर्घटनामा जाने खतरा रहेको बताउनुभएको छ । माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण महोत्सवको मूल समारोहको प्रमुख अतिथिका रुपमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका उहाँले सो कुरा बताउनुभएको हो ।
सदनमा विधेयक नलगी अध्यादेशबाट सरकार चलाउन खोजिएकोमा आपत्ति जनाउँदै उहाँले हालको (के.पी. ओली नेतृत्वको) सरकार बनेदेखिनै संविधान र लोकतन्त्रको भावना बिरुद्ध काम भइरहेको आरोप लगाउनुभयो । सुशासन, आर्थिक विकास र भ्रष्टाचार नियन्त्रणमा विशेष काम गर्दैगर्दा असंवैद्यानिक र अपारदर्शी ढंगबाट नयाँ सरकार बनेको उहाँको भनाई थियो ।
कार्यक्रममा सहभागी रहँदै उहाँले विद्यालयका पूर्व प्रधानाध्यापक, पूर्व वि.व्य.स. अध्यक्ष, विशिष्ट चन्दादाता र अन्य सहयोगीहरुलाई सम्मानपत्र समेत प्रदान गर्नुभएको थियो । स्वर्ण महोत्सवमा सहभागिताका लागि माडी आउनुभएका प्रचण्डलाई माओवादी नेता कार्यकर्ता एवं स्थानीयबासीले बाजागाजासहित भव्य स्वागत गरेका थिए ।