माडी, चितवन । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘आफू प्रधानमन्त्री रहँदा चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माण गर्न निकै कोशिस गरेको’ बताउनुभएको छ ।
माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण महोत्सवको मूल समारोहको प्रमुख अतिथिका रुपमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । त्यसैगरी आफ्नो कार्यकालमै ‘भूमि र सुकुम्बासी सम्बन्धी समस्या समाधानको प्रक्रिया बढाएको’ पनि उहाँले बताउनुभयो ।
निकुञ्जभित्र भौतिक पूर्वाधार बनाउन रोक्नेगरी सर्बोच्च अदालतको आदेश गरेको भएपनि ‘निकुञ्ज सडक निर्माणको काम पुरा गर्न आफ्नो पहल र भूमिका निरन्तर रहने’ उहाँको भनाई थियो । भरतपुर महानगरपालिका, माडी नगरपालिका र प्रदेश तहबिच समन्वय हुनसके माडीको विकासले तीब्रता लिने उहाँको अभिव्यक्ति थियो ।
कार्यक्रममा बोल्दै उहाँले ‘सोमेश्वर माध्यमिक विद्यालय बरुवाको पुरानो (कमजोर) भवन विस्थापन गरी नयाँ भवनमाथि चारवटा कोठा थप्न र अन्य भाैतिक निर्माण कार्यमा आफ्नो भूमिका प्रतिवद्धता व्यक्त गर्नुभयो । सम्बोधनका क्रममा उहाँले सोमेश्वर माध्यमिक विद्यालय स्वर्ण महोत्सव व्यवस्थापनको प्रशंसा समेत गर्नुभयो ।
राज्यले शिक्षामा लगानी बढाउनुपर्ने भन्दै उहाँले राज्यले बजेटको २० प्रतिशत लगानी शिक्षामा हुनुपर्ने बिचार व्यक्त गर्नुभयो । शिक्षाको भौतिक विकाससंगै गुणस्तर सुधार पनि हुन आवश्यक रहेकोमा उहाँको जोड थियो । त्यसक्रममा उहाँले विद्यालयमा निर्मित स्वर्ण स्तम्भ अनावरण समेत गर्नुभयो ।