सोमेश्वर मा.वि. एकान्तबास केन्द्रलाई स्थानियकाे सहयोग

219
SwadeshPost

माडीकै सर्बाधिक व्यक्तिहरु क्वारेन्टाइनमा राखिएको बरुवास्थित सोमेश्वर मा.वि. एकान्तबास केन्द्रलाई स्थानीयबासीहरुले उत्साहप्रद सहयोग प्रदान गरिरहेका छन् ।

हाल ७० जनालाई क्वारेन्टाइनमा राखिएको सो केन्द्रको सहयोगार्थ माडी नगरपालिकामा आयुर्वेद नीरिक्षकका रुपमा कार्यरत बरुवाका स्वास्थ्यकर्मी रविशंकर शाहले एक छाक बराबरको कुखुराको १२ के.जी. मासु प्रदान गर्नुभएको छ । त्यसैगरी स्थानीयबासी माधव बरालले १० लिटर शुद्ध तोरीको तेल उपलब्ध गराउँदा अर्का स्थानीयबासी प्रतीक श्रेष्ठले १० लिटर सेनेटाइजर र देवी प्रसाद पौडेलले २ कार्टुन अण्डा प्रदान गर्नुभएको छ । त्यस्तै, स्थानीयबासी छायाँदत्त पाठकले रु. ६,००० बराबरको एन नाइन्टीफाइभ मास्क र कृषक शालिग्राम न्यौपानेले तरकारी उपलब्ध गराउनुभएको स्थानीय युवा टिकाराम सुवेदीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभयो ।

क्वारेन्टाइन सेन्टरका लागि सहयोग आउने क्रम निरन्तर जारी रहेको र स्थानीय दाताहरुले उत्साहपूर्वक सहयोग गरिरहेको माडी १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलको भनाई छ । यसअघि, क्वारेन्टाइन सेन्टरमा स्थानीय युवा क्लबहरुले सरसफाई, गर्दी सामुदायिक पुस्तकालयले आवश्यक मात्रामा साबुन र स्यानिटाइजर तथा स्थानीय महिला समूहले भाँडाकुँडा उपलब्ध गराएका थिए ।

SwadeshPost