माडीको थारु बाहुल्य बघौंडा गाउँमा सामुदायिक होमस्टेको सेवा सुरु

847
SwadeshPost

माडीको थारु बाहुल्य बघौंडा गाउँमा स्थापित ‘बघौंडा सामुदायिक होमस्टे’ले सेवा सुरुवात गरेको छ । थारु सँस्कृति, भेषभूषा र खानपानको झल्को दिनेगरी बघौंडा गाउँबासीहरुले स्थापना गरेको सामुदायिक होमस्टेले सेवा प्रारम्भ गरेको हो ।

माडी नगरपालिकाको लक्षित समूहको कार्यक्रम अन्तरगत आदिवासी जनजातीको १५ लाख रुपैंया र स्थानीयबासीहरुको १२ लाख रुपैंया लागत सहभागितामा सो होमस्टे निर्माण भएको हो । ‘जैविक विविधताको संरक्षण र पर्यापर्यटन प्रवर्द्धन गरौं’ भन्ने नारासहित होमस्टेको निर्माण गरिएको र त्यहाँ घोङ्गी, चिचर, हाँसको मासु, लोकल कुखुरा, माछा तथा अन्य थारु परिकारहरु उपलब्ध रहने होमस्टेकी अध्यक्ष रजपतिया चौधरीले जानकारी दिनुभयो ।

हाल सुरूवातमा ३ वटा होमस्टे भवनबाट सेवा सुरूवात गरिएकोमा २० जनासम्म पाहुनाहरुलाई सेवा दिन सकिने सो होमस्टे निर्माणका अभियन्ता ओमप्रकाश महतोले जनाउनुभयो । निकट भविष्यमै स्वीस नेपालको आर्थिक लागतबाट २ वटा थप होमस्टे भवन तथा साँस्कृतिक भवन, सामुदायिक भवन, फोहोर व्यवस्थापन र सौर्यउर्जा जडान गरिने जनाइएको छ । माडी उपत्यकामा यसअघि शिवद्वार सामुदायिक होमस्टे सञ्चालनमा रहेको छ भने बनकट्टा गाउँमा बोटे सामुदायिक होमस्टे निर्माणाधीन रहेको छ ।

SwadeshPost