चितवन राष्ट्रिय निकुञ्जभित्र बिग्रिएको बाटो दशैं अगावै मर्मत हुने

468
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जभित्र कसरादेखि देउराली डाँडासम्मको बिग्रिएको बाटो दशैंअगावै मर्मत हुने भएको छ । माडी नगरपालिकाका जे.सि.बी. डोजर, ट्रिपर, ट्रयाक्टर लगायतका निर्माण सामग्रीहरुले एकैसाथ भोलि मंगलबारदेखि काम सुरु गरी तीन दिनभित्र सडक मर्मत कार्य पुरा गर्ने योजना रहेको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो ।

निकुञ्जभित्रको बिग्रिएको बाटो मर्मतका लागि प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट विनियोजन गरेको हो । कसरादेखि ध्रुवापोष्ट नजिकै देउराली डाँडासम्मको बाटो मर्मतका लागि सो मन्त्रालयले १८ लाख रुपैंया बजेट स्वीकृत गरेको छ । हाल सो सडक खण्डमा खाल्डाखुल्डी परेको र पानी जमेको कारण दुइपाङ्ग्रे र साना तथा ठूला सवारी साधन चलाउँदा समस्या परिरहेको छ । यसबारे स्वदेश एफ.एम.ले फलोअप सहित निरन्तर समाचार प्रकाशित र प्रसारित गरिरहेको थियो ।

SwadeshPost