युवा मनोविज्ञान, प्रेम, विवाह र यौनबारे युवा नेता सन्देश पौडेल

792
SwadeshPost

वास्तवमा युवाहरुको परिभाषाबारे अन्तराष्ट्रिय रुपमा विभिन्न मान्यताहरु स्थापित छन् । मार्क्सवादी धारामा पनि केहि फरकफरक मान्यताहरु स्थापित छन् तर हामीलाई लाग्छ, नेपाली युवा आन्दोलनको अहिलेसम्मको अनुभवहरुको सारलाई खिँच्दा युवा परिभाषालाई मुलभूतरुपमा तीनवटा कुराहरुमा आधारित गर्न सकिन्छ । पहिलो हो, उमेर समूहको आधारमा, दोश्रो, युवा मनोविज्ञानको आधारमा र तेश्रो, युवा विशेषताको आधारमा । त्यसो गर्दा सामान्यतया १६ बर्षदेखि ४० बर्ष सम्मका मानिसहरुलाई युवा भनिन्छ । वास्तवमा ती युवा हुन, जो जान्न तयार छन; सिक्न तयार छन्; नयाँ कुरा पहिचान र खोजी गर्न तयार छन्; जिज्ञासु छन्; खेलप्रति, संगितप्रति नयाँ शिक्षा र ज्ञानप्रति रुची राख्छन् र ज्ञानका साह्रै भोकाहरु छन्, ती युवाहरु हुन् । त्यसैले उमेरका हिसाबले मात्रै युवाको परिभाषामा कैद गर्दा केहि कमी हुनसक्छ ।

चालिस बर्ष कटेको छ, तरपनि ऊ जिज्ञासु छ, जान्न चाहन्छ, बुझ्न चाहन्छ र अगाडि बढ्न ऊ श्रृजनशील छ भने ऊ युवा हो । यदि ऊ सोह्र बर्षको छ तर ज्ञान, शिक्षा, सिकाई, आवेग, रुची, प्रेम, यौन, सिर्जनशीलता जस्ता चिजहरु उसमा छैनन् भने सोह्र बर्षको मानिस भएपनि ऊ युवा हुन सक्दैन । त्यसैले युवा हुनका लागि अनिवार्य रुपमा नयाँ ढंगले नयाँ गतिशीलता सहित अगाडि बढ्ने रुची र चाहना हुनुपर्दछ । तेश्रो कुरा हो, युवा मनोविज्ञान । हरेक चिजमा अगाडी बढ्नु नै युवा मनोविज्ञान हो । हामीले बुझेको कुरा के छ भने चाहे केहि गर्नलाई होस्, चाहे पढ्नलाई होस्, चाहे केहि सिक्नका लागि होस्, युवाहरु अगाडी रहन्छन् । राम्रो बाटो नपाउँदा छिटो बिग्रने मनोविज्ञान पनि युवाहरुमै हुन्छ । मुख्यतः अगाडि बढ्न आतुर मनोविज्ञानलाई नै युवा मनोविज्ञान भनिन्छ ।

युवाहरुको आधारभूत समस्याहरु देश काल परिस्थिति अनुसार फरक फरक हुनेगर्छ । हाम्रो देशको परिस्थितिमा युवाहरुको आधारभूत समस्या खासगरी तीनवटा छन् । पहिलो कुरा बैज्ञानिक शिक्षा प्राप्त गर्नु वा उसको आवश्यकता अनुसारको शिक्षा प्राप्त गर्नु हो । दोश्रो कुरा हो, उसले हासिल गरेको शिक्षा अनुसार समाज बदल्नको लागि, परिवार बदल्नको लागि र देश बदल्नको लागि वा देश र समाजलाई संवृद्ध पार्नका लागि उसले त्यो शिक्षा अनुसारको काम पाउनु वा रोजगार पाउनु हो । त्यो नपाउनु अहिलेका युवाहरुको दोश्रो समस्या बनेको छ । तेश्रो समस्याको रुपमा हामीले उसको बैज्ञानिक र सुन्दर जीवन देखेका छौं । हरेक युवा पढ्न चाहन्छ, जागिर खान चाहन्छ, एउटा सुन्दर घर बसाउन चाहन्छ । उसका प्रेम, मनोरञ्जन, यौन, नयाँ चिज सिक्ने, देशविदेश गर्ने, सारा समाज र देशलाई अगाडि बढाउने जुन रुची र चाहना छ, त्यसको लागि एउटा सुन्दर पारिवारिक जीवन, जो परम्परागत सामन्ती जीवन होइन, नयाँ उन्नत र बैज्ञानिक सामुहिक जीवन सहितको उन्नत जीवन नै युवाहरुको आवश्यकता हो । यो पुरा हुन नसक्नु युवाहरुको समस्या हो । त्यसैले संक्षिप्तमा हामी के भन्न सक्छौं भने, शिक्षा, रोजगार र सुन्दर जीवन आजको नेपाली युवाहरुको समस्या हो ।

प्रेम, विवाह र यौन
प्रेम मानव जातीले तयार पारेको सबैभन्दा सुन्दर फुल हो । प्रेमविहीन युवाहरु वास्तवमा रसविहीन युवाहरु नै हुन् । हरेक युवाको एउटा मनोविज्ञान, प्रेमसहितको मनोविज्ञान हुन्छ जसले नै परिवारलाई अघि बढाउन, परिवारलाई सुन्दर बनाउन र समाजलाई रुपान्तरण गर्न साह्रै महत्वपूर्ण काम गर्दछ । प्रेम विभिन्न प्रकारका हुन्छन् वा प्रेमका विभिन्न वर्गिकरणहरु छन् । समाजलाई गरिने प्रेम, परिवारलाई गरिने प्रेम, बैवाहिक जीवनको अपेक्षा सहित गरिने प्रेम, यी लगायतका विभिन्न प्रकारका प्रेमहरु हुन्छन् । तर प्रेमविहीन युवा त वास्तवमा रसविहीन युवा जस्तै हो ।

जहाँसम्म विवाहको कुरा छ, यो मानिसले सिर्जना गरेको कृत्रिम कुरा हो, जो पहिला थिएन र भोलि पनि रहनेछैन तर नेपाली समाजको अहिलेको विकासक्रममा विवाह बाँकी छ । वास्तवमा विवाह भनेको प्रेमको एउटा उचाई पनि हो । एक विशिष्ठ प्रकारको प्रेम हुन्छ, जुन प्रेममा आधारित भएर मानिसहरु वैवाहिक जीवनमा जान्छन् र त्यो वैवाहिक जीवन प्रेमको उच्चतम रुप र जीवनलाई अगाडि बढाउने एउटा औजारको रुपमा हामीले बुझेका छौं । विवाह वास्तवमा जीवनको सहयात्रा हो र यसले जीवनलाई अगाडि बढाउन र नयाँ समाज तथा पारिवारिक जीवनलाई अगाडि बढाउन मद्दत गर्छ ।

यौन, मानिसले सिर्जना गरेको चिज होइन । यो प्राकृतिक चिज हो । हुनत यौनका बारेमा विभिन्न परिभाषाहरु बाँकी नै छन्, तरपनि यौनलाई प्रेमको विशिष्ठ रुपका रुपमा लिन सक्छौं । वास्तवमा यौन प्रकृतिले सिर्जना गरेको सुन्दर फुल हो र यौनका बारेमा हामी माक्र्सवादी भएकाले के दृष्टिकोण राख्छौं भने प्रेमविहीन यौन सम्बन्ध वास्तवमा वेश्यावृत्ति हो । यदि उनीहरु विवाहित छन, श्रीमान श्रीमती हुन तर उनीहरुविच प्रेम छैन र यौनसम्बन्ध छ भने त्यसलाई निशुल्क वेश्यावृत्तिका रुपमा हामीले बुझ्दछौं । यदि पतिपत्नी हो र श्रीमतीको इच्छाविपरित वा श्रीमानको इच्छाविपरित यौनसम्बन्ध राखिन्छ भने त्यो एक प्रकारको वैधानिक बलात्कार हो । त्यसैले हाम्रो माक्र्सवादी मान्यता अनुसार के छ भने प्रेमविहीन यौनसम्बन्ध वेश्यावृत्ति हो र स्वीकृतिविहीन यौन सम्बन्ध बलात्कार हो ।

युवा मनोविज्ञान
युवाहरुमा देखा परेको विकृतिको मुख्य श्रोत समाजमा छ । हाम्रो समाज अहिले अर्थतन्त्रको हिसाबले सामन्तवादबाट अगाडि बढ्दै प्रतिक्रियावादी पुँजीवादको विकासतर्फ वा दलाल नोकरशाही पुँजीको विकासतिर गइरहेको छ । यसको प्रभाव युवाहरुमा परिरहेको छ । पहिलो कुरा, समाजको सकारात्मक रुपान्तरणका निम्ति युवा मार्क्स, युवा लेनिन, युवा चे ग्वेभारा, युवा आइन्स्टाइन लगायतका युवा खेलाडीहरु र युवा कलाकारहरु आदि एकथरी युवाहरुले समाजको सकारात्मक रुपान्तरणका लागि प्रयास गरिरहेका थिए र छन् भने अर्काथरी युवाहरु विकृति र विसङ्गतितिर छन् । जाँडरक्सी खाने, चुरोट, हिरोइन र स्न्याकहरु सेवन गर्ने, कुलतमा फँस्ने र बिन्दास जीवन विताउने, समाज तथा परिवारप्रति कुनै उत्तरदायी नहुने र आजको लागि गर, भोलीका लागि केहि पनि नसोच, जे गर्नुछ आजै गर, मीठो खाऊ, राम्रो लगाऊ, सुख सयलमा जीवन विताऊ तर भोलीको लागि केहीपनि नसोच, समाजको लागि केहि पनि नगर, यो खालको विकृतिपूर्ण सोचाइहरु युवाहरुमा विकास भइरहेको छ । यो द्वन्द्वको विचमा नै युवा मनोविज्ञानको द्वन्द्व केन्द्रीत छ ।

(अपेक्षा चौधरी र क्षितिज लामिछानेसंगको कुराकानीमा आधारित / सम्पादित तथा संक्षेपीकरण गरिएको लेख)

SwadeshPost